दफा १२
विद्युतीय अभिलेखको सम्प्रेषण र प्राप्तिको समय तथा स्थान
(१) उत्पत्तिकर्ता र प्रापकबीचमा अन्यथा सम्झौता भएकोमा बाहेक कुनै विद्युतीय अभिलेख उत्पत्तिकर्ताको नियन्त्रणबाहिरको सूचना प्रणालीमा प्रवेश गरेपछि त्यस्तो विद्युतीय अभिलेखको सम्प्रेषण भएको मानिनेछ ।
(२) उत्पत्तिकर्ता र प्रापकबीचमा अन्यथा सम्झौता भएकोमा बाहेक कुनै विद्युतीय अभिलेखको प्राप्तिको समय तोकिए बमोजिम निर्धारण गरिनेछ ।
(३) उत्पत्तिकर्ता र प्रापकबीचमा अन्यथा सम्झौता भएकोमा बाहेक कुनै विद्युतीय अभिलेखलाई उत्पत्तिकर्ताको व्यवसाय सञ्चालन हुने स्थानबाट सम्प्रेषण गर्नु पर्ने र प्रापकको व्यवसाय सञ्चालन हुने स्थानमा प्राप्त हुनु पर्ने भनी मानिनेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “व्यवसाय सञ्चालन हुने स्थान” भन्नाले,–
(क) उत्पत्तिकर्ता वा प्रापकको एकभन्दा बढी व्यवसाय सञ्चालन हुने स्थान रहेको अवस्थामा सम्बन्धित कारोबारसँग सम्बद्ध रहेको व्यवसाय सञ्चालन हुने स्थान सम्झनु पर्छ ।
(ख) उत्पत्तिकर्ता वा प्रापकको कुनै व्यवसाय सञ्चालन हुने स्थान नभएको अवस्थामा निजको बसोबासको स्थानलाई नै निजको व्यवसाय सञ्चालन हुने स्थान सम्झनु पर्छ ।